अनुसूची ५
सम्झौताको धाराहरुको धारा ८ स्थिति, छूट र विशेषाधिकारहरु
धारा ९ दफा १– धाराको उद्देश्यः एसोसिएशनलाई सुम्पेको काम पूरा गर्न एसोसिएशन सामथ्र्य बनाउन यो धारामा दिइएको स्थिति, छूट र विशेषाधिकारहरु प्रत्येक सदस्यको प्रादेशिक क्षेत्रमा एसोसिएशनलाई दिइनेछ ।
दफा २–एसोसिएशनको स्थितिः एसोसिएशनको कानूनी मान्यता प्राप्त व्यक्तित्व हुनेछ र एसोसिएशनलाई विशेषतः देहायको काम गर्ने अधिकार हुनेछः–
(१) ठेक्का लिने दिने,
(२) चल अचल सम्पत्ति प्राप्त गर्ने वा बिक्री गर्ने,
(३) कानूनी कारवाई गर्ने ।
दफा ३– अदालती कारवाईको सम्बन्धमा एसोसिएशनको स्थानः एसोसिएशनले आफनो कार्यालय भएका वा सेवा सूचना स्वीकार गर्नको लागि एसोसिएशनले एजेण्ट नियुक्त गरेको वा सिक्योरिटीहरु निकालेको वा ग्यारेण्टी गरेको कुनै सदस्यको प्रादेशिक क्षेत्रमा कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मात्र एसोसिएशनको विरुद्ध कारवाई चलाउन सकिनेछ । सदस्यहरुले वा सदस्यहरुको निमित्त काम गर्ने व्यक्तिहरुले, वा सदस्यहरुबाट दाबी लिने व्यक्तिहरुले कुनै कारवाई चलाउन सक्ने छैन । एसोसिएशनको सम्पत्ति र जायजेथालाई जहाँसुकै रहेको वा जोसित रहेको भए पनि एसोसिएशनको विरुद्ध अन्तिम फैसला हुनुभन्दा अघि पक्राउ, कब्जा वा कुर्किबाट छूट दिइनेछ ।
दफा ४–जायजेथा पक्राउ हुनबाट छूटः एसोसिएशनको सम्पत्ति र जायजेथालाई जहाँसुकै रहेको र जोसित रहे पनि, कार्यकारिणी वा कानूनी कारवाईद्वारा खोज तलासी, अधिग्रहण, अपहरण, निस्वामीकरण वा अरु कुनै किसिमको पक्राउबाट छूट पाउनेछ ।
दफा ५–अभिलेख गृह (आर्चिभ्स) सम्बन्धी छूटः एसोसिएशनको अभिलेख गृह (आर्चिभ्स) भित्र दखल गर्न सकिने छैन ।
दफा ६– जायज्यथामा प्रतिबन्ध नलाग्नेः यस सम्झौताले दिएको कार्य सञ्चालन गर्न आवश्यक भएको हदसम्म र यस सम्झौताको दफाहरुको अधीनमा रही, एसोसिएशनको सबै सम्पत्ति र जायजेथामा कुनै किसिमको प्रतिबन्ध, नियम, नियन्त्रण र मोराटोरिया लाग्ने छैन ।
दफा ७– लेखापढी गर्ने विशेषाधिकारः सदस्यहरुले एसोसिएशनको अफिसियल लेखापढीलाई अरु सदस्यहरुको अफिसियल लेखापढीलाई सरह नै व्यवहार गर्नेछन् ।
दफा ८– अधिकृत र कर्मचारीहरुको निमित्त छूट र विशेषाधिकारहरुः एसोसिएशनका सबै गभर्नरहरु, कार्यकारी सञ्चालकहरु, अल्टरनेटहरु, अधिकृतहरु र कर्मचारीहरुले –
(१) एसोसिएशनले छूट त्याग गरेमा बाहेक अफिसियल हैसियतले गरेको काम कार्यहरुमा कानूनी कारवाईबाट छूट पाउनेछ ।
(२) स्थानीय नागरिक नभएमा, देशान्तरबाससम्बन्धी प्रतिबन्धहरु, विदेशीहरुको रजिष्ट्रेशनसम्बन्धी आवश्यकताहरु, राष्ट्रिय सेवासम्बन्धी दायित्वहरुबाट छूट र विनिमय प्रतिबन्धसम्बन्धी सुविधाहरु सदस्यहरुले अरु सदस्यहरुको सोही समान दर्जाका प्रतिनिधिहरु, अधिकारी वर्गहरु र कर्मचारीहरुलाई दिए सरह नै पाउनेछन् ।
(३) सदस्यहरुले अरु सदस्यहरुको सोही समान दर्जाको प्रतिनिधिहरु अधिकारीवर्गहरु र कर्मचारीहरुलाई दिए सरह नै भ्रमण सुविधा पाउनेछन् ।
दफा ९–करबाट छूटः
(क) एसोसिएशन, यसको जायजेथा, सम्पत्ति, आम्दानी र यो सम्झौताद्वारा अधिकृत यसको सञ्चालन र कारोबारहरुले सबै कर र सबै भन्सार महसूल छूट पाउनेछ कुनै कर वा महसूल असूल वा भुक्तानी गर्ने दायित्वबाट पनि एसोसिएशनले छूट पाउनेछ ।
(ख) स्थानीय नागरिक, स्थानीय प्रजा, वा अरु स्थानीय राष्ट्रिय नभएको एसोसिएशनका कार्यकारी सञ्चालकहरु, अल्टरनेटरहरु, अधिकारी वर्गहरु वा कर्मचारीहरुलाई एसोसिएशनले दिने तलब र परिलाभमा कुनै पनि कर लिइने छैन ।
(ग) एसोसिएशनले निकालेको दायित्व वा सिक्योरिटी (त्यस उपरको लाभांश वा ब्याज लगायतमा) जोसित रहेको भए पनि कुनै किसिमको कर लिइने छैनः–
(१)यदि त्यसले सो दायित्व वा सिक्योरिटीलाई मात्र एसोसिएशनले सिर्जना गरेको कारणले फरक व्यवहार गरेको छ भने, वा
(२)यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकार क्षेत्रीय आधार सो दायित्व वा सिक्योरिटी निकालिएको, वा भुक्तानी गर्नुपर्ने गरिएको वा भुक्तानी गरिएको ठाउँ, वा मुद्रा वा बैंङ्कले राखेको कुनै कार्यालय वा कारोबारको स्थान भएमा ।
(घ) एसोसिएशनले ग्यारेण्टी दिएको कुनै दायित्व वा सिक्योरिटी (त्यसको लाभांश वा ब्याज लगायतमा) जोसित रहेको भए पनि कुनै किसिमको कर लिइने छैनः–
(१)यदि त्यसले त्यो दायित्व वा सिक्योरिटीलाई एसोसिएशनले ग्यारेण्टी गरेको कारणले फरक व्यवहार गरेको छ भने, वा
(२)यदि त्यस्तो कर व्यवस्थाको निमित्त सम्पूर्ण अधिकार क्षेत्रीय आधार एसोसिएशनले राखेको कुनै कार्यालय वा कारोबारको स्थान भएमा ।
दफा १०–धाराको प्रयोगः प्रत्येक सदस्यले यो धारामा दिइएको सिद्धान्तहरु आफनो कानून मुताविक लागू गराउने उद्देश्यको निमित्त आफनो प्रादेशिक क्षेत्रभित्र आवश्यकतानुसारको कार्य गर्नेछ र आफूले गरेको कामको पूरा विवरणको सूचना एसोसिएशनलाई दिनेछ ।